रुपन्देही । नेपाल पत्रकार महासंघले जारी गरेको महासंघको सदस्यता शुद्धीकरणका लागि लुम्बिनी प्रदेशमा यसअघि सदस्य रहेका १६३४ सदस्यमध्ये ९४० जनाको मात्रै नवीकरणका लागि सिफारिस भएको छ ।
जिल्ला शाखाले बनाएका सिफारिस समितिले गरेको सिफारिस समितिको आधारमा कार्यसमितिले निर्णय गरेर प्रदेश कमिटीलाई पठाएको हो ।
अब नवीकरण हुनेमा रुपन्देहीमा ३१४ बाट २३०, नवलपरासीमा ८५ बाट ३८, कपिलवस्तुमा ११२ बाट ७३, पाल्पामा ९६ बाट ७१, गुल्मी ६५ बाट २६, अर्घाखाँची १३२ बाट ५९, दाङमा २७१ बाट ८५, प्युठानमा १४३ बाट ८१, रोल्पा ७८ बाट ३५, रुकुम १९, बाँकेमा २८१ बाट १७३, बर्दियामा ९५ बाट ४९ गरी ९४० जनाको सदस्यता नवीकरणका लागि सिफारिस आएको महासंघ प्रदेशका महासचिव विक्रम खड्काले बताउनुभयो ।
जिल्लाबाट कटौती सिफारिसमा परेका १२ शाखाका पत्रकारहरूले कुनै कारणले मापदण्डमा नपरेपछि हटाइएको भए प्रदेशमा निवेदन दिने ४ दिनको समय रहेको उहांले बताउनुभयो । नवीकरणका लागि प्राप्त भएका नामावली मापदण्डअनुसार सार्वजनिक गरिएको र यसका विषयमा कुनै गुनासो भएमा वा छुटेमा असार १४ गते बिहान १० बजेसम्म प्रदेश कार्यालयमा जानकारी दिनुपर्ने महासचिव खड्काले जानकारी दिनुभयो ।
अहिले सबै शाखाहरूले सदस्यता लिएर अन्य जिल्ला तथा विदेशमा कार्यरत रहेकाको पनि अधिकांशको सदस्यता स्थानान्तरण गरिदिएका छन् । यसले गर्दा पनि केही सदस्य संख्यामा एकरुपता देखिएको छैन । प्रदेशका सबै जिल्लामा नयाँ सदस्यता पनि खुल्ला गरिएकाले यसबाट करिब १५० को हाराहारीमा थपिन सक्ने आंकलन गरिएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष उदय जिएम, महासचिव रोशन पुरी, लेखा समिति अध्यक्ष लेखनाथ न्यौपानेसहितका महासंघका नेताहरूको प्रदेश भएकाले यहाँको सदस्यता शुद्धीकरण पेचिलो बनेको हो ।
दाङ शाखाबाट केन्द्रीय उपाध्यक्ष जिएम, जिल्ला अध्यक्ष दुर्गालाल केसीसहित कार्यसमितिकै ८ जनाको नवीकरण नगर्ने सूचिमा परेपछि चर्चामा रहेका छ । लुम्बिनीमा सबैभन्दा धेरै सदस्य कटौती गरेको दाङ नै रहेको छ ।
पत्रकार महासंघका महासचिव रोशन पुरीले महासंघलाई पत्रकारहरूकै संस्था बनाउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहांले यसअघि लामो समय पत्रकारिता गरेका तर अहिले सक्रिय नरहेका अग्रजहरूलाई मानार्थ सदस्यता दिएर सम्मान साथ राखिने, अन्य पेशासँगै पत्रकारितामा पनि जोडिनेलाई विद्यार्थी पत्रकारिताको रूपमा जोड्न सकिने गरी सोच बनाइएको र क्रियाशील पत्रकार र काम गर्ने पत्रकारहरूलाई मात्र महासंघमा क्रियाशील गराइने बताउनुभयो ।