बुटवल । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा तिलोत्तमा नगरपालिकाको वनवाटिकास्थित पुष्पलाल वाटिकामा आज वृक्षरोपण गरिएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वनवाटिका हाताभित्र रहेको पुष्पलाल वाटिकामा विभिन्न फलफूलका विरुवा रोपिएको हो ।
कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले मदन भण्डारको सिद्धान्तलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले मदन नरहे पनि उहाँको विचार र योगदान मुलुका लागि अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।
पुष्पवाटिकामा अमला आँप, लिची लगायत फलफूलका विरुवा रोपिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाई, जिल्ला उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे, उपसचिव चित्र बहादुर कार्की, प्रेस चौतारीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्य, केन्द्रीय सदस्यहरु नवराज कुँवर, अमृत गिरी, टी. आर. शर्मा, सल्लाहकारहरु शेरबहादुर केसी, दिनेश पाण्डे, लुम्बिनी प्रदेश महासचिव निरु गौतम, बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल, तिलोत्तमा अध्यक्ष तामनाथ पाण्डे लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको प्रेस चौतारी रुपन्देहीका सचिव केशव भण्डारीले जानकारी दिनुभयो ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिनुभएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । भ्ण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक हुनुहुन्थ्यो ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद’(जबज)को सिद्धान्त प्रतिपादन गरी उहाँ जनतामाझ लोकप्रिय हुन सफल हुनुभएको थयो । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ ।