काठमाडौं । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।
बिहीबारबाट सुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताउनुभयो ।
गृहसचिव भट्टराईले विपदमा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो । उहाँले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताउनुभयो । गृहसचिव भट्टराईले सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरू गरेको पनि जानकारी दिनुभयो ।