चितवन । नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ ।
बिहीबार मध्यान्न १:२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रवार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै शनिबार उज्यालो हुनु पूर्व ३:३० बजे देखि पुनः अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार लगातार ढुङ्गासहितको सुख्खा पहिरो खसिरहेको पहिरो जसोतसो पन्छाउने काम भएको थियो । तर, रोकिएका यातायातका साधन पुरै पास गर्दा नगर्दै परेको अविरल वर्षासहितको पहिरोले पुन सडक रोकियो । उहाँका अनुसार पहिरो गइरहेको क्षेत्रको मुग्लिन तर्फ र नारायणगढ तर्फ तयारी अवस्थामा एस्काभेटर र डोजर तयारी अवस्थामा राखिएका छन् । तर पनि पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेको कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन ।