भैरहवा। चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था महिला उद्यमी संघ सिद्धार्थनगर–९, रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि भैरहवामा दुईदिने नेतृत्व विकास तथा अभिमुखीकरण तालिम भैरहवामा सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनको वार्षिक कार्ययोजना अन्तर्गत कार्यक्रम गरिएको बताउनुभयो । नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्ने, पदीय जिम्मेवारी कसरी पूरा गर्ने, नेतृत्व क्षमताको विकास जस्ता विषयमा तालिम केन्द्रीत हुने बताउँदै उहाँले निःशुल्क तालिमबाट प्रशिक्षार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले स्थापनाकालदेखि नै संस्थाले विभिन्न उत्कउष्ट कार्यक्रमहरु गरिरहेको बताउँदै संस्थालाई अझ उचाईमा लैजान आवश्यक रहेकोमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका सचिव टीकाराम भट्टराईले नेतृत्व विकास मानव जीवनको महत्वपूर्ण पाटो रहेको र जीवनमा सफलता प्राप्त गर्न नेतृत्व विकास आवश्यक रहेकामा जोड दिनुभयो ।
आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले तालिममा सहभागी भएपछि नयाँ कुरा जान्न मौका पाउने बताउनुभयो ।
३० जनाको बढीको सहभागीता रहेको तालिममा प्रशिक्षक विजय पाण्डेले सहजीकरण गर्नुहुने कार्यक्रम संयोजक तथा चेम्बर अफ कमर्स, रुपन्देहीका सह–कोषाध्यक्ष मधुसुदन अर्यालले जानकारी दिनुभयो ।