बुटवल । सामाजिक रुपान्तरणका लागि उद्यमशिलताको विकास आवश्यक रहेकामा जोड दिइएको छ । ७२ औँ मदन जयन्तीको अवसरमा रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको उद्यमशिलता अवसर र चुनौति विषयक अन्तरक्रिया तथा प्रशिक्षणका सहभागीले सामाजिक रुपान्तरणका लागि उद्यमशिलता र उद्यमशिलताका लागि सिप सिक्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले विदेशबाट फर्किएका युवामा सिप र अनुभव हुने भएकाले राज्यले यसलाई ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो । “सामजिक रूपान्तरणमा रिटर्नीको ठुलो योगदान रहन्छ । राज्यले यसको कदर गर्नुपर्छ”, उहाँले भन्नुभयो । रिटर्नीले विदेशबाट फर्किएका युवालाई संगठित गरी उनीहरुमा उर्जा भर्ने काम गरेको बताउनुभयो ।
नेकपा एमाले प्रदेश सदस्य तथा रिटर्नी इन्चार्ज टेकराज पौडेलले रिटर्नीलाई बलियो बनाउन पार्टीको पनि उत्तिकै भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा उद्यमशिलता सम्बन्धमा प्रशिक्षण दिँदै फेडेरेसनका केन्द्रीय उपाध्यक्ष तथा उद्यमशिलता बिभाग प्रमुख डा शालिक बस्यालले रिटर्नीले युवालाई उद्यम र उत्पादनसङ्ग जोड्ने काम गरिरहेकामा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हिरा खराल, केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज बसन्त केसी, केन्द्रीय सचिवालय सदस्य तथा रिटर्नीका लुम्बिनी प्रदेश सह इन्चार्ज धुर्व पान्डे, सचिवालय सदस्य बिनोद खनाल , केन्द्रीय सदस्य तथा रिटर्नीका केन्द्रीय सूचना बिभाग सह संयोजक ज्ञानेश्वर घिमिरे, प्रदेश सचिव राजेन्द्र पन्थी लगायतले लाखौंको संख्यामा विदेशिएको जनशक्ति र सोही मात्रामा नेपाल फर्कँदै गरेको जनशक्तिलाई उसको ज्ञान, सीप, पुँजी र प्रविधिको भरपुर उपयोगको बारेमा राजनीतिक पार्टीहरुले नै निश्चित योजना र कार्यक्रम तय गर्न आवश्यक रहेको बताउनुभयो ।
रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामचन्द्र बस्यालले रिटर्नीको क्षमता र योगदानको क्षेत्रलाई पार्टीले राम्रो गरी बुझ्न आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय, नेपाल सरकार मत्स्य तथा पशुपंक्षि विभाग, लुम्बिनी वाणिज्य क्याम्पस, विभिन्न पालिका प्रतिनिधी, रिटर्नी फेडेरेसन उद्यमशिलता विभाग लगायतका विभिन्न निकायका प्रतिनिधीले राज्यबाट प्रदान गरिने अनुदान तथा सहुलियत कर्जामा रिटर्नीको पहुँच, स्टार्ट अप विजनेस लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।