काठमाडौं । सरकारले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
‘मेक्सिकोका नागरिकहरू बोकेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । मन्त्रिपरिषद् बैठकले सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ’, प्रवक्ता शर्माले भन्नुभयो ।
त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद बैठकले मोटा धानको प्रतिक्वीन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।