रुपन्देही । नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गर्नुभएको छ ।
बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारीक रुपमा कार्यभार सम्हाल्नुभएको हो ।
उहाँलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया स्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारका उत्खनन गर्ने निर्णय सदर गर्नुभएको छ ।
पदभारग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले लुम्बिनीको गरिमालाई उचो राख्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताउनुभयो ।
उहाँले आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताउनुभयो । लामाले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भाषण भन्दा लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारी सहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केहि स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।
यसअघिका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा.लामालाई उपाध्यक्ष पदमा रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।