काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भन्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उहाँ अध्यक्षको दौडबाट पछि हटेसँगै अध्यक्षमा चन्द निर्विरोध हुनुभएको हो ।
त्यस्तै रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ। क्यानको निर्वाचनका लागि बिहान ९ः१५ देखि १०ः१५ सम्मको समय निर्धारण गरिएको थियो।
क्यानका एक सदस्यका अनुसार सो अवधिमा उनीबाहेक अन्यको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा सिंह निश्चित भएका हुन्।
कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। पारसले चतुरबहादुर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको हो । उहाँ केही अघिमात्रै बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
सचिवका अर्का उम्मेदवार प्रशान्तविक्रम मल्ल यसअघि पनि सचिव हुनुहुन्थ्यो। विवाद भएपछि उहााले सचिवबाट राजीनामा दिनुभएको थियो । क्यानको निर्वाचनमा ८४ मतदाता छन्।