काठमाडौं । रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले गैडहवा, कञ्चन, मायादेवी, लुम्बिनी सांस्कृतिक र सैनामैना नगरपालिकाका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार संसद बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले क्षेत्र नं. ५ मा मा पर्ने ३२ वडाका अधिकांश नागरिकलाई जिल्ला सदरमुकाम पुगेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने लगायतका प्रशासनिक सेवा लिन कठिन रहेको उल्लेख गर्नुभयो ।
समग्र क्षेत्रलाई पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने यहाँका नागरिकहरुको धेरै पहिला देखिको माग रहेको बताउँदै उहाँले गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारसँग माग गर्नुभएको हो ।
आफ्नो समेत उपस्थितिमा हालै क्षेत्र नं. ५ का स्थानीय सरकारका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरुको सर्वदलीय बैठकले सो क्षेत्रका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको सांसद घिमिरेले बताउनुभयो । ‘यसर्थ सो स्थानमा यथाशीघ्र ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउन सम्माननीय सभामुखज्यूमार्फत् नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’ उहाँले भन्नुभयो ।