बुटवल । गार्डियन लघु जीवन बिमा कम्पनी लिमिटेडले बुटवलको राजमार्ग चौराहमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल शाखाको उद्घाटन गरिन् । सोही अवसरमा उनले बिमा कम्पनीले स्थापनाको उद्देश्यअनुरूप निम्न तथा मध्यम वर्गीय समुदाय र लक्षित वर्गमा पुगेर बिमा सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो ।
कम्पनीसँगको सहकार्यमा नगरवासीमाझ बिमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बिमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने उपप्रमुख अर्यालले बताउनुभयो । लक्षित वर्ग, महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न उपप्रमुख अर्यालले सुझाव दिनुभयो ।
कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले बिमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ति, गरिबीको रेखामुनि रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बिमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताउनुभयो । पेपरलेस तरिकाले डिजिटल प्रविधिको प्रयोग गरी बिमा सुविधा प्रदान गरिने देवकोटाले बताउनुभयो । वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बिमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिँदै देवकोटाले गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बिमाको सुविधा प्रदान गरिने जानकारी दिनुभयो । डिजिटल प्रविधिको गरी जनस्तरमा लघु जीवन बिमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताउँदै भण्डारीले कम्पनीमा दाबी फस्र्यौट एवं भुक्तानी प्रक्रिया एकदमै सजिलो र झन्झटरहित रहेको दाबी गर्नुभयो । उक्त शाखा कार्यालयले बिमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पु¥याउने कम्पनीले विश्वास लिएको छ ।
नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, बुटवल–८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, कम्पनी सचिव रामप्रसाद पौडेललगायतले कम्पनीलाई सफतताको शुभकामना दिँदै सहज र सरल किसिमले सेवा प्रदान गर्न आग्रह गर्नुभयो । बुटवल शाखा इन्चार्ज कृष्णकुमार पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।