परासी । नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिणामको पटका बरामद भएको छ । भित्रि सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजादैं गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण हे.क्वा नवलपरासीको गस्ती टोलीले उक्त पटका बरामद गरेको हो । बरामद भएको पटकाको बजार मूल्य ९ लाख ५० हजार बढीको रहेको गणका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिए । भारतको ठूठीबारीबाट महेशपुर नाकाहुँदै उक्त पटका ल्याइएको हो । बरामद भएको पटका एक पिसलाई ३० देखि ८/९ सय मूल्य पर्नेसमेत रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
तिव्रगतिमा गाडी कुदेको देखेपछि शंका लागी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०३, ००१ च ११३८ नं. को पिकअपबाट पटका बरामद भएको डिएसपी साउदले बताउनुभयो । बरामद भएको पटकलाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटकासँगै पक्राउ परेको सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ । चाडवाड नजिकिएसँगै सीमावर्ती नाकाबाट विष्फोटक जन्य पटकाहरु नवलपरासीतर्फ भित्रिने गरेका छन् ।
पटकासँगै पक्राउ परेका चालकलाई लिएर शंकास्पद गोदाम हेर्न पुगेका सशस्त्र प्रहरी र स्थानीयबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा सशस्त्र प्रहरीको गाडीमा रहेका पिकअप भेनका चालक पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरका सुनिल गुप्तालाई स्थानीयको भिडले भगाएको सशस्त्र प्रहरीले जनाएको छ । पटका ल्याएको स्थानबारे सोधिखोजी गर्दै पक्राउ परेका चालकलाई सशस्त्र प्रहरीको गाडीमा राखेर महेशपुर बजार पु¥याइएको थियो ।
गोदाम नजिक पुगेका सशस्त्र प्रहरीले शंकास्पद व्यक्तिसँग सोधिखोज गर्ने क्रममा जम्मा भएको स्थानीय र प्रहरीको टोलीबीच भनाभन र हात हालाहालको स्थिति सृजना भएको थियो । ‘गोदाम नजिक पुगेर शंकास्पद व्यक्तिसँग कुरागर्दै थियौं, एकैछिनमा ४÷५ सय जनाको भिड जम्मा भयो, थप मद्दत मगाउने क्रममा गाडीभित्र रहेका चालकलाई भिडले तानेर भगाए ।’ डिएसपी साउदले भन्नुभयो । भिडमा जम्मा भएका कारोबारीहरुले चालकलाई भगाएको हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ । गाडीको कागज पत्र र चालकको लाइसेन्स भएकाले उनलाई समेत पक्राउ गरिने सशस्त्र प्रहरीले जनाएको छ ।