भैरहवा । अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस मनाइने गरिन्छ । मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यस वर्ष यो दिवस मनाइएको हो । यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवद्र्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गरेको जानकारहरु बताउँछन् ।
दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने मनोचिकित्सकहरुको भनाइ छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने जानकारहरु बताउँछन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य ९२०१६–२०३०० मा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवद्र्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।
यसैबीच दिवसको अवसर पारेर रोटरी क्लव अफ भैरहवाको मुख्य आयोजनामा खुशी जीवनको लागि विज्ञान र अध्यात्म विषयमा प्रवचन कार्यक्रम अयोजना गरिएको छ । सो कार्यक्रममा अध्यात्मिक चिन्तक रुपेश्वर गौरदासले भागवत् गितामा उल्लेख गरिएका प्रत्येक अंशमा वैज्ञानिक कारण भेटिएको भन्दै विकसित मुलुकले यसको अध्ययनबाट विज्ञानका रहस्यहरु पत्ता लगाउन सकेको बताउनुभयो । गौरदासले पश्चिमा मुलुकले विस्तारै भागवत गिता अनुसरण गर्दै गएको तर नेपालमा पश्चिमा संस्कृति हावी हुँदै गएकोले अब हिन्दु धार्मिक ग्रन्थमा रहेका बैज्ञानिक तथ्यको प्रचार गरिनुपर्नेमा जोड दिनुभयो । रोटरी क्लव अफ भैरहवाका अध्यक्ष उमेश चन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा देवदह मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डा. विक्रम काफ्लेले शारीरिक अंगको जत्तिकै मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।