बुटवल, असोज २६ । बुटवल–११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले बचतकर्तालाई वित्तीय साक्षरता प्रदान गर्दै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय सहकारीमा देखिएको विचलनबाट टाढै रहेर दीपावलीले बलियो सहकारीको रूपमा आफ्नो पहिचान दिन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । अर्थतन्त्र चलायमान बनाउन सहकारीको ठूलो भूमिका रहेको मेयर पाण्डेको भनाइ छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेले छरिएर रहेको पूँजीलाई उपयोग गरी समाजको आर्थिक उन्नतिमा सहकारीले लगानी गरिएको जानकारी दिनुभयो ।
बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले आर्थिक जीवनस्तर उकास्दै सहकारी सिद्धान्तमा आधारित रही गतिशील, पारदर्शी, सबल एवं दिगो वित्तीय संस्था रूपमा दीपावली दरिएको बताउनुभयो । २०६६ सालमा स्थापना भएको सहकारीमा १ हजार १६६ शेयर सदस्य रहेको सहकारीका सल्लाहकार लोकराज शर्माले जानकारी दिनुभयो ।
सहकारीको शेयर पूँजी २ करोड ५१ लाख ६५ हजार रहेको छ । सहकारीले ऋण लगानी १९ करोड ७४ लाख १६ गरेको छ । कार्यक्रममा सल्लाहकार कमल नेपाल, लेखा समिति संयोजक भरत पाठक, जेष्ठ शेयर सदस्य तथा साहित्यकार जंगबहादुर शाह, कमल नेपाल लगायतले बोलेका थिए । सहकारीका उपाध्यक्ष हिमलाल न्यौपानेको स्वागत तथा सचिव माया बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।