बुटवल । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गर्नुभएको छ । मंगलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नु भएका गुटेरेसले शान्ति दीपमा दिप प्रज्ज्वलन गर्नुभयो ।
त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ । शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उहाँ पैदल जानुभएको थियो । उहाँले वृक्षरोपणसमेत गर्नुभएको छ ।
महासचिव गुटेरेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहाभगी हुनुभयो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।
यसैगरी महासचिव गुटेरेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ । उहाँले लुम्बिनीको अवलोकनपछि पत्रकारसम्मेलन गर्दै शान्तिभूमिबाट शान्तिको सन्देश सहितको सम्बोधन गर्नुभएको छ । उहाँले संसारभर भइरहएका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्नुभएको छ । ‘संसारभर भइरहएका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’, उहाँले भन्नुभयो ।
इजरायल, प्यालेस्टाइन, सुडान लगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उहाँले आव्हान गर्नुभयो । बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो । जलवायु परिवर्तन प्रती उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
‘शान्ती र मानवता अपरिहर्य बिषय हो मानवियता मर्न दिनु हुन्न ।’, उहाँले भन्नुभयो, ‘बुद्धका सन्देश, पन्चसिलको सिद्दान्त र संयुक्त रास्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौ ।’
महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आउनुभएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गर्नुभएको थियो ।