बुटवल । मोहन वैद्य किरणले लेखेको हिमाली दर्शन पुस्तकको बुटवलमा समिक्षा गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी हिमाली दर्शन पुस्तकको समिक्षा तथा छलफल गरिएको हो । नेकपा क्रान्तिकारी माओवादीका महासचिव तथा कम्युनिष्ट नेता माक्र्सवादी सौन्द्रयशास्त्री मोहन वैद्द किरणले लेखेको उक्त हिमाली दर्शन पुस्तकमा विभिन्न दर्शनबारे व्याख्या गरिएको छ ।
उक्त हिमाली दर्शन पुस्तक समिक्षा कार्यक्रममा बोल्दै संविधान सभा सदस्य नजिर मियांले हिमाली दर्शन पुस्त बहुआयमिक भएको उल्लेख गर्दै अब नेपाल दर्शनलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । धार्मिक सद्भाव र एकता कायम गर्न धार्मिक दर्शनलाइ पनि प्राथमिता दिएर अध्ययन, अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।
हिमाली दर्शन पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक लिलाबहादुर केसीले दर्शनमा भारतीय साम्राज्यबाद हावी भएका कारण हिमाली दर्शनको जन्म भएको बताउनुभयो । पूर्वी दर्शन भारतबाट निस्केको भन्ने विश्वलाई फैलाइएको भ्रमलाई हिमाली दर्शनले उक्त भ्रमको पर्दाफास गरेको बताउंदै हिमाली दर्शनले सबैलाई दर्शनबारे अध्ययन गर्न प्रेरित गरेको बताउनुभयो । हरेक विषयलाई द्वन्द्वादको रुपमा विश्लेषण र व्याख्या गरेको पुस्तकले अध्ययन अनुसन्धान गर्न सजिलो बनाएको उल्लेख गर्नुभयो ।
प्राध्यापक डाक्टर सुरेन्द्र गिरीले राष्ट्रबादमा आधारित हिमाली दर्शन पुस्तक व्यवहारिक र वैज्ञानिक रहेको बताउनुभयो । छन्दवादी कवि कविराज पौडेलले वेद, गीतामा पनि द्वन्द्वात्मक भौतिकबाद छ भन्ने हिमाली दर्शन पुस्तकले देखाउन खोजेको उल्लेख गर्नुभयो ।
लेखक तथा साहित्यकार ऋषिराम भुसालले हिमाली दर्शन पुस्तक ऐतिहांसिक भौतिकबादी चिन्तनमा आधारित रहेको बताउनुभयो । पत्रकार डिआर घिमिरेले हिमाली दर्शन नयाँ दर्शन नभएको उल्लेख गर्दै नौ वठा दर्शन भित्रको एक दर्शन हो भन्नुभयो ।
उक्त कार्यक्रममा पत्रकार डाक्टर बालकृष्ण चापागाई, डाक्टर लक्ष्मी पोखरेल, पुनराम पोखरेल, खिमानन्द भण्डारी, माधव पौडेल, गणेश घिमिरे, यज्ञलाल सुवेदी, रुद्रलाल उपाध्यायलगायतले पुस्तकबारे आआफ्ना धारणा राखेका थिए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता र लेखक ऋषी आजादको सञ्चालनमा कार्यक्रम भएको थियो । ३ सय १४ पेजमा प्रकाशित उक्त हिमाली दर्शन पुस्तक दर्शनबारे अध्ययन गर्नका लागि उत्कृष्ट मानिन्छ ।