बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताउनु भएको छ । बिहीवार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले देश आर्थिकरूपमा दबाबमा भए पनि आफूले सरकारको नेतृत्व गर्दाजस्तो अप्ठ्यारो अहिले नभएको बताउनुभएको हो ।
‘मैले सरकारको नेतृत्व गर्दा जस्तो संकट अहिले छैन’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । मुलुकको सञ्चित पूँजी दश महिनालाई पुग्ने छ । पर्यटन क्षेत्र फस्टाएर सबैभन्दा धेरै पर्यटक नेपालमा आएका छन् । राजस्व वृद्धि भएको छ । घरजग्गाको कारोबार फस्टाउँदो छ, अब देशको अर्थतन्त्रले गति लिँदैछ ।’ अर्थतन्त्रमा देखा परेको दबाब समाधान गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा वृहत् समीक्षात्मक कार्यक्रम गरी विशेष कार्ययोजना लिएर ल्याउने गरी सरकार अघि बढेको समेत उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकार बैंकको ब्याजदर एक (बढीमा ९ प्रतिशत) अंकमा झार्ने तयारीमा लागेको समेत जानकारी दिनुभयो । लोकतन्त्रमाथि प्रश्न उठाउने ठाउँ कसैलाई नभएको पनि उनले बताउनुभयो । ‘आर्थिक समृद्धितर्फ लैजाने योजनामा सबै लागौं । कोही निराश हुनुपर्ने अवस्था छैन । आ–आफ्ना ठाउँबाट मेहनत गरौं । देशलाई समृद्धितर्फ हामीले लैजाने हो,’ उहाँले भन्नुभयो ।
कार्यक्रमम लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले रुपन्देहीमा अवरुद्ध बिकास योजनाहरु बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । गिरीले बेलहीय–बुटवल ६ लेन सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सम्पन्न नभएको, बुटवल–नारायणगढ सडक बिस्तार ३ वर्षमा सम्पन्न गर्न भने, पनि सम्पन्न भएको तथा भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा नआएको लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको हो । ‘हाम्रा योजनाहरु बेलैमा सम्पन्न भएका छैनन्, व्यापार घटिरहेको छ, व्यवसायीहरु निरास छन् ।’–गिरीले भन्नुभयो, ‘कुनै राजनीतिक अभिप्रायले मैले यी विषयहरु उठाएको छैन । जनता दुःखी छन्, आत्तिएका छन् ।’