तिलोत्तमा, कार्तिक १७ । वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले छतिवन रुखले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नपार्ने स्पष्ट पार्नुभएको छ । छतिवनको बारेमा फैलाइएका भ्रमलाई हटाउने सन्दर्भमा शुक्रबार तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा वनस्पतिविज्ञ डा. केसीले छतिवनले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर पारेको प्रमाणित नरहेको स्पष्ट पार्नुभयो ।
नेपालमा रुख, विरुवा, फूल, वनस्पतिको सन्दर्भमा खोज, अनुसन्धान गर्ने र यस सम्बन्धमा कुनै विवाद आएमा त्यसलाई निरुपण गर्ने सरकारको आधिकारिक निकायको रुपमा वनस्पति विभाग रहेको छ । छतिवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भनि अफवाह फैलाइएपछि कतिपयले सहरी सौन्दर्यको लागि लगाइएको रुख काटेपछि तिलोत्तमा नगरपालिकाले शुक्रबार सरकारको आधिकारिक निकायका विज्ञलाई बोलाएर सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा महानिर्देशक केसीसहित सरकारीअधिकारीहरु प्रभात सापकोटा, देवीप्रसाद भण्डारी, सूर्यप्रसाद मैनाली, महेश्वर लम्सालको सहभागिता रहेको थियो ।
महानिर्देशक डा. केसीले छतिवन रुखको बारेमा फैलाइएको भ्रममा कुनै सत्यता नरहेको बताउँदै छतिवनकैं कारण तिलोत्तमा नगरपालिकाले मुलुकभरमा ख्याति र प्रसिद्धि कमाएको बताउनुभयो । छतिवन नेपालको स्थानीय प्रजाति रहेको बताउँदै उहाँले यो सडक किनारमा सहरी सौन्दर्य प्रवद्र्धनको लागि लगाउन उपर्युक्त विरुवा रहेको स्पष्ट पार्नुभयो ।
भारतको पश्चिम बंगाल सरकारले यसलाई राज्यको प्रादेशिक रुखको रुपमा प्रवद्र्धन गरेको उल्लेख गर्दै उहाँले छतिवनमा पर्याप्त औषधिय गुण रहेको जानकारी गराउनुभयो । छविनले निःसन्तान गराउने भन्ने कुरामा कुनै पनि प्रकारको सत्यता बताउँदै उहाँले वनस्पति विभागले गत साउन २३ गते त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सहितका विज्ञ राखेर छतिवनको बारेमा अन्तरक्रिया गरिसकेको जानकारी दिनुभयो ।
छतिवनमा अधिक प्रदुषण सोस्न सक्ने क्षमता रहेको र यो प्रदुषणयुक्त वातावरणमा पनि सजिलै हुर्किने, जस्तोसुकै माटोमा पनि हुने बताउँदै उहाँले बाह्रैमासे हरियाली रहने, क्यानोपी ठूलो भएको, पात चौडा भएको र वास्नादार, सहज रुपमा उपलब्ध, कम हेरचाहको आवश्यकता पर्ने भएकोले सडक किनारमा लगाउन छतिवन उपर्युक्त रहेको बताउनुभयो । छतिवनको बोक्रा र चोपमा औषधिय गुण भएकोले विभिन्न समुदाय तथा आयुर्वेदमा औषधीहरुमा यसको प्रयोग हुने गरेको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले छतिवनको बारेमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेकोले यसको संरक्षण र प्रवद्र्धनमा लाग्न नगरबासीलाई आग्रह गर्नुभयो । उपप्रमुख जागेश्वरी चौधरीले छतिवनलगायतका कुनै पनि रुखमा क्षति पुर्याउने जोकोहीलाई अब काूननी कारवाही गरिने स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले तिलोत्तमाको पहिचान बनेको हरियालीलाई बचाउने दायित्व सबैको रहेको बताउनुभयो । कार्यपालिका सदस्य सुरेन्द्र श्रीले तिलोत्तमा हरियाली र सरसफाई तिलोत्तमाको ब्राण्डको रुपमा स्थापित भएको बताउँदै यसको प्रतिकूल हुनेगरी कसैले पनि कुनै गतिविधि गर्न नहुनेमा जोड दिनुभयो ।