काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।
साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताउनुभयो ।रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् ।
रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का देशका धेरै ठाउँमा महसुस भएको थियो ।