बुटवल। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको अस्तु नेपाल लिएर आउने कम्युनिष्ट नेता रामचन्द्र चापागाईं (आर.सी)को उपचारका क्रममा निधन भएको छ ।
भारतमा पुष्पलालसँगै नजिक बसेर काम गरेका चापागाईंलाई त्यही कारणले सबैले माइला दाइ भनेर चिन्दथे । लामो समयदेखि मुटुरोग, दमलगायतका रोगबाट ग्रसित भएका ७४ वर्षीय चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्ह निधन भएको हो ।
स्याङ्जाको किचनास हाल विरुवा गाउँपालिकामा वि.सं. २००७ सालमा जन्मीएका चापागाईं नेपाली माक्र्सवादी दर्शन र सिद्धान्तमा निष्ठाका धरोहरको रुपमा मानिनुहुन्छ ।
अहिले उहाँ नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो । स्वर्गीय चापागाईंका श्रीमती थानकुमारी चापागाई एमाले लुम्बिनी प्रदेश सदस्य तथा यसअघिको प्रदेश सभाका पूर्व सदस्य हुनुहुन्छ । चापागाईको एक छोरी हुनुहुन्छ ।
माक्सवादी कखराजस्तो उत्कृष्ट कृतिबाट मार्क्सवादी राजनीतिमा बौद्धिक रुपमा जमेका चापागाईंका कम्युनिष्ट र लोकतन्त्र’, माओवादी केन्द्रको अवधारणा’, मालेमावाद जिन्दावाद’, पुष्पलालको जीवनी’ भारतीय माओवादी जनयुद्ध’, ‘मार्क्स २०० औं जयन्ती र संशोधनवाद’ जस्ता आधा दर्जन पुस्तकहरु प्रकाशित छन् । चापागाईंले बुटवल क्षेत्रमा रहेर नियमित लेखरचनाहरु प्रकाशन गर्नुहुन्थ्यो ।