पाल्पा । विस्तृत अध्ययन नगरी बनाइएको पर्यटकीय संरचनाले सर्वसाधारणको ज्यान लिने गरेको छ । तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले हरेक वर्ष तीन/चार जनाको ज्यान लिने गरेको छ ।
भूतखोलामा रहेको पोखरी अवलोकन गर्न र पौडी खेल्न आउनेहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको देखिन्छ । यसले हरेक वर्ष घुम्न र पौडी खेल्न जानेहरू ज्यान गुमाउन बाध्य छन् भने कतिपय मानिस तस्बिर खिच्नेक्रममा लडेर ज्यान गुमाउन बाध्य भएको स्थानीय तोया लम्सालले बताउनुभयो ।
भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि मानिसको क्रियाकलाप सुरक्षित गर्न आवश्यक उपाय अपनाउनुपर्ने लम्सालले बताउनुभयो । ‘हरेक वर्ष भूतखोलामा लडेर, पौडी खेलेर मानिसले ज्यान गुमाउनुपरेको छ,’ उहाँले भन्नुभयो ‘मानिसको ज्यान लिने पनि पर्यटकीय बनेको छ । सरकारले लगानी गरेको स्थान असुरक्षित बनेको छ । यहाँ घुम्न आउने पर्यटक असुरक्षित छन् ।’
भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् । तर गर्मी सिजनका बेला कतिपय युवा यहाँ पौडिन जान मिल्ने सहज स्थान रहेकाले अकालमा ज्यान गुमाउनुपरेको छ ।
एमाले सांसद बासुदेव घिमिरेले भूतखोलामा धेरै जना व्यक्तिको डुबेर मृत्यु भइरहेकोले सो स्थानमा पौडी खेल्न पूर्णनिषेध गर्नुपर्ने बताउनुभयो । त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।
अहिले भूतखोला सामुदायिक वन उपभोक्ता समूहले यहाँ आउने पर्यटकलाई विभिन्न शीर्षकमा शुल्क लिने गरेको छ । तर सुरक्षाको प्रबन्ध भने पर्यटकका लागि हुन नसकेको गुनासो छ । दुई वर्ष लुम्बिनी प्रदेश सरकारले पार्क निर्माण गर्न २५ लाख रुपियाँ लगानी गरेको थियो । यस्तै तिनाउ गाउँपालिका र वन उपभोक्ता समूहले समेत यहाँ अध्ययन नै नगरी लगानी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि भूतखोला क्षेत्रमा पटक–पटक आन्तरिक र बाह्य पर्यटकको ज्यान जाने गरेको जनाएको छ । ‘त्यस ठाउँमा मानिसको ज्यान जाने घटना दोहोरिरहन्छ,’ पाल्पाका प्रहरी नायब उपरीक्षक डिएसपी सुगन्ध श्रेष्ठले भन्नुभयो,‘पर्यटन क्षेत्रमा काम गर्ने निकायले त्यसलाई सुरक्षित बनाउन जरुरी छ ।’
यसैबीच पाल्पामा दुई स्थानमा डुबेर मंगलबार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । भारत उत्तरप्रदेश मगहरकापुर घर भई विद्यालयबाट शिक्षकसहित २०–२५ जनाको संख्यामा नेपालमा घुम्न आएका थिए । घुम्न आएका विद्यार्थीहरूमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन् ।
प्रहरी चौकी दोभानबाट खटिएको टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । अस्पतालमा पु¥याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेको थियो । यस्तै पाल्पाकै भूतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ भूतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.९ का विमल आचार्यको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।
आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए । भूतखोलामा उनीहरू दुवै जना पुगेको प्रहरीले जनाएको छ । आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो । बुटवलदेखि ६ किलोमिटर दूरीमा रहेको भूतखोलामा घुम्न जाने कैयौं युवाहरूको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ ।
गएको वर्ष मात्रै तिनाउ गाउँपालिका वडा नं ३ तिनाउ खोलास्थित विद्युतको ड्यामसाइड र भूतखोलामा १० जना युवाहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी तथ्यांक छ । मृत्यु हुनेहरूमा ४ जना किशोर रहेका छन् । त्यस्तै ४ जना भारतीय नागरिक रहेका छन् । भूतखोला सामुदायिक वनका अनुसार यहाँका कुनैपनि दह कति गहिरा छन् भनेर मापन नगरिएपनि माथिल्लो मुख्य दह २० देखि २५ फिट गहिरो हुन सक्ने अनुमान गरिएको छ ।