बुटवल । नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । संघले बुधबार एक विज्ञप्तीमार्फत् भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) मा बच्चा जन्माउने अप्रेशन पश्चात् विभिन्न समस्या आएर सावित्रा खनालको मत्यु भएपछि उपचारमा संलग्न डाक्टर र उनिहरुको परिवारलाई पनि सुरक्षको धम्की दिएको उल्लेख गर्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
‘युनिभर्सल मेडिकल कलेजमा बच्चा जन्माउने अप्रेशन पश्चात् विभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु पछि विभिन्न सामाजिक संजाल र पत्र पत्रिकाहरुमा डाक्टरको बदनाम गराउने बिना प्रमाण लापरबाहीको संज्ञा दिने र उपचारमा संलग्न डाक्टर र उहाँहरुको परिवारलाई पनि सुरक्षाको धम्की दिने जस्ता घटनाहरु प्रति यस चिकित्सक संघ लुम्बिनी शाखाको गम्भीर ध्यानकर्षण भएको छ । उपचारमा चित्त नबुझे कानुनी बाटो व्यवस्था हुँदा हुँदै यस्तो संस्कारको विकास हुनु ज्यादै निन्दनिय छ ।’, विज्ञप्तीमा उल्लेख छ ।
चिकित्सक संघ लुम्बिनीका महासचिव डा.सन्तोष पोखरेलले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलोज, हातपात तथा धम्की दिनेजस्ता घटना बढेको बताउँदै सुरक्षाको प्रत्याभूति गर्न माग गरे । संघका सदस्यहरुको हक–हित र सुरक्षाका लागि नेपाल चिकित्सक संघ कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने उनले बताए ।
रुपन्देहीको सियारी गाउँपालिका–५ बैदौलीकी ३३ वर्षीया खनालको कार्तिक २ गते मृत्यु भएको थियो । यसमा चिकित्सकीय लापरबाही भएको परिवारको आरोप छ ।
