काठमाडौं । नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा भएका छन् । बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
गत २४ कात्तिकको बढुवा समितिको सिफारिसअनुसार मंगलबार पाँचजनाको बढुवा भएको हो । जसमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई छन् । कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सुरक्षा चुनौतिको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिनुपर्ने उहाँको भनाइ छ ।
सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उत्कृष्टताका साथ निर्वाह गर्न निर्देशन दिनुभएको छ । संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्यांकन गरेको चर्चा गर्दै संगठनको नीति अनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको बताउनुभयो ।