काठमाडौं । काठमाडौंमा नेकपा एमालेको युवा संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार ‘शक्ति प्रदर्शन’ गरेका छन् । दुवैका सभा सरकारविरुद्ध भनिए पनि एक अर्काप्रति लक्षित देखिन्थे । नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरे पनि प्रसाईंप्रति आक्रोश व्यक्त गरेको थियो । एमालेका नेतासमेत रहेका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले नेतृत्व गरेको समूहले तीनकुनेमा प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएका जुलुस तीनकुनेमा पुगेर सभामा परिणत भएका थिए ।
तीनकुनेमा हुने कार्यक्रममा सहभागी हुन स्वयंम्भुबाट आएका यूवा संघका कार्यकर्ता र प्रसाई समूहका कार्यकर्ताबीच बिहीबार दिउँसो बल्खुमा झडप भएको थियो । युवा संघका कार्यकर्तालाई तीनकुने पुर्याउिने रुट मिलाउनेक्रममा त्रुटी हुँदा उक्त झडपको स्थिती आएको एक प्रहरी अधिकृतले बताउनुभयो ।
प्रदर्शनमा सहभागी हुनका लागि विभिन्न जिल्लाबाट नेता कार्यकता आए पनि एमालेकै शीर्ष र प्रभावशाली नेताहरु भने अनुपस्थित रहे । कार्यक्रममा सम्बोधन गर्दै एमाले नेता बस्नेतले प्रसाईंको उपचार गर्न माग गर्दै सरकार पनि सच्चिनुपर्ने चेतावनी दिनुभयो । उहाँले सरकार नसच्चिए आन्दोलनको नेतृत्व गरेर प्रधानमन्त्रीलाई सिंहदरबारबाट निकाल्ने चेतावनी दिनुभयो । ‘म प्रधानमन्त्रीलाई चेतावनी दिन चाहन्छु,’ उहाँले भन्नुभयो,‘तपाईं सच्चिनुस् । सच्चिनुभएन भने सिंहदरबारबाट निकाल्छौँ ।’
उहाँले प्रसाईंलाई भतिजको संज्ञा दिँदै तत्काल पक्राउ गर्न माग गर्नुभयो । ‘केपी बालाई हजुरबा भनेपछि प्रसाईं भतिजो भए, भतिजोको उपचार गर्नुस्,’ उहाँले भन्नुभयो,‘ठगीको आरोपमा पक्राउ गर्नुस् ।’ कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले आफूहरुको आन्दोलन दुर्गा प्रसाईंको विरुद्धमा नभएको बताउनुभयो ।
उहाँले एमाले सधैं राष्ट्र र राष्ट्रियताको पक्षमा रहेको भन्दै सरकारको खबरदारीको लागि आन्दोलन गरिएको बताउनुभयो । सरकार सही बाटोमा नभएको उहाँको टिप्पणी थियो । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित प्रदर्शन गरेका थिए । उनीहरुले भ्रष्टाचार, अपराधलगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका थिए ।
सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियारलगायतका प्लेकार्ड र ब्यानर बोकेर विरोध जनाएका थिए ।
उता काठमाडौंको बल्खुमा प्रसाईंले नेतृत्व गरेको समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले गणतन्त्रविरोधी नारा लगाएका थिए भने सरकारलाई सिंहदरबारबाट निकाल्ने चेतावनी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले आफूहरुले ऋण मिनाहाको माग राखेको र त्यसपछि राष्ट्रियता बलियो बनाउन लागिपरेको बताउनुभयो ।
उहाँले त्यसपछि २०४७ सालको संविधान ब्युँताउने बताउनुभयो । उहाँले राजसंस्था आफैं बलियो रहेको भन्दै दलहरु र प्रधानमन्त्रीलाई होसियार रहन सचेत गराएका थिए । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘देश बेच्न पाइँदैन’लगायतका नारा लगाएका थिए । कार्यक्रम सकिएपछि समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले प्रतिकार गरेको छ । प्रहरीसँगको झडपमा दुवैतर्फका दर्जनौं घाइते भएका छन् ।
प्रहरीतर्फ ३० बढी घाइते भएको बताइएको छ भने प्रसाईंका १० बढी कार्यकर्ता घाइते भएको उनले जनाएका छन् । प्रदर्शनकारी कार्यक्रम सकिएपछि निषेधित क्षेत्र तोड्ने प्रयास गरेर अघि बढ्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीमाथि ढुंगा र इटा प्रहार गरेपछि लाठी प्रहार गरेको थियो । त्यसपछि प्रहरीले पनि पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । कार्यक्रम सकिएपछि प्रहरीले बल्खुको चोक खाली गराएको छ भने प्रदर्शनकारी सानेपा र कलंकी क्षेत्रमा रहेका छन् ।