बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ, हाटबजार लाइनसहितका क्षेत्र डुबानमा परेका छन् ।
अमरपथको मुख्य बजार क्षेत्रका सयभन्दा धेरै पसलमा पानी पसेर क्षति पुगेको छ । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवलको मुख्य बजार क्षेत्र अमरपथ क्षेत्रमा भेल पस्दा पसलमा रहेका लाखौं मूल्यका सामान कामै नलाग्ने गरी विग्रिएका छन् । बुटवल हाटबजार नजिक रहेको राष्ट्रिय समाचार समिति (रासस) को कार्यालय पूर्ण रुपमा डुवानमा परेको छ। कार्यालयमा रहेका महत्वपूर्ण कागजात, कपडाहरु नष्ट भएका छन्। राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बाढीका कारण विस्थापित भएको बताउनुभयो । अविरल वर्षाले रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय डुबानमा परेका छन् ।
अविरल वर्षाले डुवान भएपछि न्यू होराइजन बोर्डिङ स्कुलले आज बिदा दिएको छ । सोह्र छत्तिस कुलोको छेउमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू समेत डुबेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले नाली थुनिएरै अधिकांश क्षेत्र डुवानमा परेकोले सचेत रहनुपर्ने बताउनुभयो । क्षतीको विवरण संकलन भइरहेको उनले बताउनुभयो ।
