दाङ-दाङमा १४ जना व्यक्तिमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। शान्तिनगर गाउँपालिका वडा नम्बर ३, ४ र ५ का ११ जना र लक्ष्मी बैंक घोराहीका ३ जना गरी १४ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का एक जना, ४ का ९ जना र वडा नम्बर ५ का एक जना गरि ७ महिला र ४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनिहरु सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका व्यक्तिहरु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
यसैगरी, दाङको घोराही स्थित लक्ष्मी बैंकमा कार्यरत ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका १५ हस्पीटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरमा कार्यरत दुई पुरुष र एक जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये घोराही १४ का एक जना र वडा नम्बर १५ का दुई रहेका छन् । ती कर्मचारीहरुलाई ज्वरो आएपछि गएको बुधबार देखी काउन्टर बन्द गरिएको थियो । कर्मचारीहरु घरमै बसेको र स्वाब परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
बैंकको शाखा कार्यालय पनि बन्द गरिएको छ। शहिद उमेशमार्गमा रहेको बैंकको शाखाबाट कर्मचारीहरु एक्सटेन्सन काउन्टरमा आउने जाने गरेका कारण बन्द गरिएको शाखा प्रमुख पदमकुमार केसीले जानकारी दिए।
बैंकमा कार्यरत थप १० जना कर्मचारी र संक्रमित पुष्टी भएका व्यक्तिहरुका परिवारको समेत स्वाब संकलन गरिएको छ।