बुटवल । कपिलवस्तु, चितवन, नवलपरासी, पाल्पा, रुपन्देही, प्यूठानलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले कोइली वाणगंगा खोलाको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा आज बेलुका ४ बजेसम्म सतर्कता अपनाउन भनिएको छ । यस्तै प्यूठानको हंसपुरलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको छ । माडी नदीमा आकस्मिक बाढीको जोखिम छ ।
यस्तै पाल्पाको कुमालगाउँ, अर्चले, जल्पा र आसपासका क्षेत्रमा पनि निरन्तर पानी परेको छ । कालीगण्डकी नदी र अन्य साना खोला तटीय क्षेत्रमा बेलुका ५ बजेसम्म सतर्कता अपनाउन बाढी सूचना महाशाखाले अनुरोध गरेको छ ।
आज वाणगंगा, तिनाउ र कालीगण्डकी नदीमा बहाव थप बढ्न सक्ने जोखिम छ । यसले नदी तथा खोलाको तटीय क्षेत्रमा जोखिम बढाएको छ । त्यस्तै चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बहाव बढ्न सक्ने र कतै कतै आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
देशका धेरैजसो ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।