बुटवल । निजी क्षेत्रको पहिलो संस्था नेपाल चेम्वर अफ कमर्स लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आगामी शनिवार बुटवलमा हुने भएको छ । अधिवेशनका लागि चेम्वर लुम्विनी प्रदेशले विभिन्न उप समितिहरु गठन गरी तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि जिल्ला, नगर र गाउं चेम्वरहरुले प्रतिनिधि छनोट गरिरहेको चेम्वर अफ कमर्स लुम्विनीका अध्यक्ष टंक पोखरेलले बताउनुभयो ।
नेपाल चेम्वर अफ कमर्स लुम्विनीले जिल्ला,नगर,गाउं तहमा चेम्वरलाई विस्तार गर्नुका साथै एशोसिएट र वस्तुगत सदस्यता समेत प्रदान गरेको जनाएको छ । लुम्विनी प्रदेशमा अहिले चेम्वरका ५० भन्दा बढी शाखाहरु छन् । जिल्ला,नगर र गाउं चेम्वरबाट ३ जनाका दरले प्रतिनिधि छनोट भएका छन् भने वस्तुगत र एशोसिएटबाट एकएक जना प्रतिनिधि छनोट हुनेछन् ।
अधिवेशनले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, जिल्लानगर उपाध्यक्ष १, वस्तुगत उपाध्यक्ष १, एशोसिएट उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १, सचिव २ र बाँकी सदस्य सहित २७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
अधिवेशन अन्तर्गत बुधवारदेखि निर्वाचन प्रकृया शुरु हुने महासचिव जे.पी.कंडेलले बताउनुभयो । दोस्रो अधिवेशनसम्म आइपुग्दा लुम्विनी प्रदेशमा चेम्वरले ब्यापक शाखा विस्तार गरेको बताउंदै महासचिव कंडेलले आगामी बर्षदेखि संस्थागत विकासमा जोड दिने बताउनुभयो ।
शनिवार हुने अधिवेशनको उद्घाटन लुम्विनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ । सोही अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश श्रेष्ठ,लुम्विनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की लगायतले सम्वोधन गर्नुहुनेछ ।