बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न पाल्पा आउनुभएको छ ।
उहाँलाई मंगलबार बिहान पाल्पामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो ।
तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस बर्ष सार्वजनिक बिदा समेत दिएको छ ।
नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजयी प्राप्त गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सव स्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।
विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिस साम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरूप सो जात्रा निकालिँदै आइएको छ ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा परिचित छ ।
कर्णेल उजीरसिंह थापाले विक्रम संवत् १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिँदै आइएको छ ।
यस्तै रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकनका लागि संघिय मन्त्री, प्रदेश सरकार मन्त्री, संघीय तथा प्रदेश सभा सदस्य, सुरक्षा नियकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।