बुटवल । बिभिन्न जिल्लामा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मंगलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।
यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङमा चट्याङ लागेर स्थानिय चन्द्रकली वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।