दाङ-कोरोना संक्रमण रोकथामका लागि दाङमा भदौ १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ।
शुक्रवार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति दाङको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा लागु गर्ने निर्णय भएको समितिका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
निषेधाज्ञाका क्रममा जिल्लाभर सार्वजनिक यातायात, वजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन।
यसैगरी होटेल, रेष्टुराँ, खाजा घर, सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त वैंक तथा वित्तिय संस्थाहरुबाहेक सबै सेवा बन्द गरिनेछ।
अत्यावश्यकीय सरकारी कार्यालयहरु सञ्चालन गर्ने र थोरै कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गरिने प्रजिअ रिजालले जानकारी दिए।
बैठकले २१ गतेपछि पनि जिल्लाको अवस्था विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दाङले निशेधाज्ञा थप एक हप्ता बढाउनसक्ने निर्णय गरेको हो।
यो अवधिमा कोरोना संक्रमण फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गरी परीक्षणको दायरा बढाउने निर्णय समेत गरिएको छ।