पाल्पा-पाल्पा प्रशासनले निधेषाज्ञाको अवधि थपेको छ। भदौ ५ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजे सकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले भदौ १९ गतेसम्मका लागि थपेको हो।
निषेधाज्ञाका समयमा अत्यावश्यक खाद्यान्न किन्न बिहान ७ देखि ११ बजेसम्म बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले जारी गरेको आदेशमा जनाइएको छ।
तर खाद्यान्न बोकेका सवारी साधन, दमकल, एम्बुलेन्स, शव वाहन, तरकारी, फलफूल र दूध बोक्ने गाडी लगायत कृषि व्यवसायका लागि प्रयोग हुने सवारी साधन चल्ने छन् ।
यस्तै पशुपंक्षीका दाना बोक्ने गाडी, खानेपानी र इन्धनका ट्याङ्कर, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधनबाहेक सबै खाले निजी सवारी साधन रोक लगाएको प्रमुख जिल्ला अधिकारी न्यौपानले बताए।
सबै खाले सरकारी, गैर सरकारी कार्यालयहरु, गैर सरकारी संस्थाहरु, बैंक र वित्तीय संस्था तथा सहकारी संस्थाहरु पनि बन्द रहने सूचनामा उल्लेख छ।
जिल्लाको तानसेन नगरपालिका, विशालबजार, मदनपोखराका साथै तिनाउ गाउँपालिका र रामपुर नगरपालिकामा समुदायमा कोरोना भाइरस संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। पाल्पामा शुक्रबार नै कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।