काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ। उनको पुन: नियुक्तिबारे कुनै निर्णय भएको छैन। सोमबार मन्त्रिपरिषद बैठक बस्दैछ। सोमबारको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त नगरे उनी प्राधिकरण फर्किनेछैनन्।
उनलाई पुन:नियुक्तिको आशमा प्राधिकरणले उनलाई बिदाईको कुनै कार्यक्रम राखेन। प्राधिकरणका उच्चस्तरका कर्मचारीले भने-उहाँलाई प्राधिकरणबाट बिदाइको कार्यक्रम राखिएन, किनभने उहाँको पुन:नियुक्ति हुने सम्भावना छ।'
घिसिङ २०७३ साल भदौ २९ मा प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि मुलुकमा रहेको लोडसेडिङको समस्या समाधान गराएका थिए। यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिको माग गर्दै उनका समर्थकले सामाजिक सञ्जालमा अभियानदेखि गीतसमेत निकालेका छन्।