नेपालगन्ज–कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक वरिष्ठ चिकित्सकको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा मृत्यु भएको छ।
खजुरा गाउँपालिका वडा नं. ३ निवासी ५९ वर्षीय उनको बिहीवार दिउसो ३ः१० भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचारकै क्रममा मृत्यु भएको जनस्वास्थ कार्यालय बाँकेका स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, दुबै फोक्सोमा निमोनियाबाट पीडित उनलाई भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्यमा समस्या भएपछि असोज १ गते विहान ११ः३० बजे भेरी अस्पतालमा भर्ना भएका उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको हो।
उनी नेपाल सरकार स्वास्थ्य सेवाका ११ औ तहका वरिष्ट कन्सलटेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए। योसगैं बाँकेमा कोरोना संक्रमित मृतक सङ्ख्या १८ पुगेको छ।