बुटवल-प्रदेश ५ को राजधानी बुटवलबाट सार्ने गरी प्रदेश सभामा पेश भएको प्रस्ताव फिर्ता लिन रुपन्देही उद्योग संघले माग गरेको छ। रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद पौडेल र महासचिव जीवकान्त काफ्लेले विज्ञप्ति निकालेर प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव अव्यवहारिक र अदुरदर्शी भएको बताइएको छ।
‘बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमूल्यन गर्दे राजनैतीक पूर्वाग्रही मानसिकताका कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको छ’-संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर नठान्नु हुन र समयमै उचित कदम चाल्नुहुन समेत जोडदार माग गर्दछौ।’
संघले प्रदेश सभाका सांसदहरुलाई इमान्दारिता प्रकट गर्दै सो प्रस्ताव पास नगर्न आग्रह गरेको छ।