बुटवल–प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ।
बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले सुबिधासम्पन्न, राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले आफना सुबिधा सम्पन्न वन समेत सरकारलाई उपलब्ध गराएको र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दाङ लैजाने निर्णय अव्यवहारिक र अदुरदर्शी भएको संघको ठहर छ।
संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्वारा जारी विज्ञप्तिमा बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन एको ठहर समेत गरिएको छ।
विज्ञप्तिमा राजनैतिक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थितिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथि खेलवाड गर्न खोजिएको उल्लेख गरिएको छ।
देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर आँकलन नगर्न र बुटवललाई नै स्थायी राजधानी कायम गर्न संघले माग गरेको छ।
विज्ञप्तिमा प्रदेश नं ५ को स्थायी राजधानी बुटवको विकल्प नरहेको भन्दै यसको बिकल्प खोजिए जस्तोसुकै आन्दोलन गर्न र सडकमा सुत्न बाध्य हुन परेपनि तयार रहेको चेतावनी समेत दिईएको छ।