बुटवल-बुटवलमा प्रहरीले गोरु ओसार पसार गरिरहेका ५ वटा ट्रक नियन्त्रणमा लिएको छ।
पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको अवस्थामा ५ वटा ट्रक सहित १ सय २१ वटा गोरुलाई आज बिहान २ बजे अस्पताल लाईनबाट नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा ना ५ ख ५६५५, ना ८ ख ७३०२, ना ६ ख ५७१२, ना ५ ख ७५३९ र बागमती प्रदेश ०३-००१ ख ०३३३ नं.को ट्रक चेक जाँच गर्दा गोरु लोड गरि लिएर आएको र कागजात समेत संकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
गोरु ओसारपसारमै संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बारा निजगढका ३६ वर्षिय गणेश पौड्ल, ५२ वर्षिय शम्भु भट्टराई , ३२ वर्षिय नवराज कार्की, बाराकै जितपुर सिमराका ३८ वर्षिय तिलकबहादुर जिम्बा र मकवानपुर हेटौंडाका लक्ष्मण दनै रहेका छन्। ट्रक र ट्रकमा रहेका गोरुहरुलाई पशु क्वारेन्टाइन भैरहवा पठाइएको प्रहरीले जनाएको छ।