काठमाडौँ : मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निमार्ण अन्तिम चरणमा पुगेको छ ।
विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवक्र्स निमार्ण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवक्र्स’ को निमार्ण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने विदेशबाट ‘हाइड्रो मेकानिकल’ सामग्री आउन बाँकी छ । “बाहिरबाट आउनुपर्ने सामान आएपछि जोडेर सञ्चालन गरिनेछ ।”
आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निमार्ण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडवक्र्स’ निमार्ण गरेको हो ।आयोजना अन्तर्गत सुरुङ, हेडवक्र्स र सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्रको निमार्ण भएको छ ।
सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएकाले सुरुङबाट पानी काठमाडौँ ल्याइएको छ । तत्कालका लागि ‘हेडवक्र्स’ सम्पन्न नभएकाले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको प्रवक्ता पन्तले जानकारी दिए । उनले भने, “अबको केही महिनामा नै हेडवक्र्स सम्पन्न भएर त्यसबाट पानी पथान्तरण गर्न सकिनेछ ।”
यही फागुन १० गते अम्बाथानबाट पानी सुरुङभित्र पठाइएकामा शनिबार सुन्दरीजल आइपुगेको छ । अबको केही दिनसम्म सुरुङ परीक्षण गर्ने आयोजनाले जनाएको छ । सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निमार्ण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए । सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने बताए । उनले भने, “ठूलो चुहावट नभएमा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।” रासस