भैरहवा । रुपन्देहीको बेलहिया नाकाबाट स्थलमार्ग हुँदै सबैभन्दा पर्यटक भित्रन्छन् । यो नाकाबाट चिनियाँ पर्यटक पनि अत्याधिक मात्रामा आउने गर्दछन् । बेलहिया नाकाबाट श्रीलङ्का, थाईल्याण्ड, म्यानमार, भियतनामपछि चीनबाट पर्यटक आउने गरेको तथ्याङ्कले दखाएको छ ।
तर, अत्याधिक पर्यटक भित्रिने नाका बेलहियामा एउटा पनि हेल्थ डेस्क स्थापना गरिएको छैन । चीनमा कोरोना भाइरसको संक्रमण अत्याधिक रुपमा बढेपनि सरकारले सिमा क्षेत्रमा अहिले सम्म पर्यटकको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छैन ।
जसले गर्दा नेपालमा पनि कोरोना भाईरसको जोखिम बढेको छ । चीनमा कोरोना भाईरसको संक्रमण फैलिएसँगै नेपाल चीन सिमानाका रसुवागढी नाका बन्द गरिए पनि अन्य नाकामा भने सामान्य सतर्कता समेत अपनाईएको छैन ।
बेलहिया नाका हुँदै सन २०१८ मा चीनबाट ५ हजार २५ जना पर्यटक आएका थिए भने सन २०१९ मा ६ हजार १ सय ८ जना पर्यटक आएका थिए । २०१८ को जनबरीमा ५ सय ८, २०१९ को जनवरीमा ६ सय ४८ आएका थिए भने २०२० को जनवरी २८ सम्ममा ५ सय ४७ जना आएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले जानकारी दिए । उनले प्रत्येक दिनजसो चीनबाट पर्यटकहरु आउने गरेको बताए ।
सिमानाकामा पर्यटकको स्वास्थ्य परिक्षणका लागि हेल्थ डेस्कको स्थापना नहुँदा आफुहरुलाई समेत जोखिम बढेको उनले उल्लेख गरे ।
'पर्यटकहरु नेपाल प्रबेश गरेपछि सबैभन्दा पहिले अध्यागमन कार्यालय आउँछन्, उनीहरुको पहिलो सम्पर्क अध्यागमनका कर्मचारीसंगै हुन्छ-प्रमुख खनालले भने -संक्रमित पर्यटक भए हामी पनि जोखिममा पर्छौ ।' उनले स्वास्थ्य परिक्षण विना नै पर्यटकलाई नेपाल प्रबेश गराउदा कोरोना भाईरसको जोखिम हुने हुँदा हेल्थ डेस्कको स्थापना गर्नु पर्नेमा जोड दिए ।
रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ४/५ दिन भित्रमा सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिने बताएका छन् । उनले सिमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गर्दै केही दिन भित्रै डेस्क स्थापना गरिने बताए ।
चीनमा कोरोना भाईरसको संक्रमण फैलिएपछि भारतिय पक्षले भने सिमा नाका सुनौलीमा हेल्थ डेस्क स्थापना गरेको छ । भारतिय पक्षले चीनियाँ पर्यटकलाई स्वास्थ्य परिक्षण गरेर मात्र पठाउने गरेको बताएको छ ।