कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ।
स्थानिय तहको निर्वाचन पश्चात नगरपालिका बाट भएका काम कार्बाहीहरु अपारदर्शी भएको भन्ने उजुरीका आधारमा मन्त्रालयको टोलीले छानबिन सुरु गरेको हो।
नगरपालिकामा अनियमितता भएको भन्ने जनगुनासो र उजुरी परेपछि मन्त्रालयले उप सचिव उद्धव प्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
शुक्रबारबाट नगरपालिकाको विकास निर्माण, निर्णयहरु, आयव्यायहरु छानविन भइरहेको संयोजक रिजालले बताए।
नगरपालिकाको सम्पूर्ण काम कारबाहीको छानबिन गरी प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाइने रिजालले बताए।
जनताको गुनासो भन्दा पनि विपक्षीको दबाबले छानबिन भएको नगर प्रमुख रजत प्रताप शाहले बताए। 'छानबिन हुनु राम्रो हो जनताको काम र विकास निर्माणको काम गरेको छु ,छानबिन समितिलाई नगरबाट पूर्ण सहयोग रहन्छ' शाहले भने । नगरपालिकालाई विकास भएको देख्न नसक्नेले मन्त्रालयमा उजुरी दिएको प्रमुख शाहले बताए ।