गुल्मी- चार जना कर्मचारीको दुर्घट्नामा परि मृत्यु भएको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सेवा ५ दिनको लागि बन्द गरिएको छ। बैशाख ६ गते सोमबारसम्म शान्ति सुरक्षा र मुद्दाका काम बाहेक अरु काम बन्द गरिएको जिल्ला प्रसासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थीले बताए।
गुल्मीबाट नयाँ वर्ष मनाउन प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार दुर्घट्ना हुँदा जिल्ला प्रसासन कार्यालय गुल्मीका चार जना कर्मचारी र एक जना चालकको मृत्यु भएको थियो ।
स्वर्गद्वारी नजिकै रुपमालेमा भएको दुर्घट्नामा कार्यालयका प्रशासकिय अधिकृत श्याम न्यौपाने, खरदार यमलाल पन्थी, कम्प्युटर अपरेटर सुर्य पन्थी र मुद्दा शाखाका इश्वरी भण्डारीको मृत्यु भएको थियो । त्यस्तै जिप चालक गुल्मीको मुसीकोट नगरपालिका ३ का केशव कार्कीको पनि ज्यान गएको थियो ।
जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उपचार भइरहेको छ ।