दाङ– प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीको रिहाईको माग पुनः चर्कन थालेको छ। संगठित रुपमा यो आवाज बढ्दै जान थालेको हो।
थरुहट आन्दोलनका अगुवा लक्षमण थारु जेलबाट रिहा भए लगत्तै उनको नेतृत्वमा टिकापुर घटनामा वन्दी जीवन विताईरहेकाहरुको रिहाईको माग राख्दै देश व्यापी अभियान थाले। अहिले यो अभियानले तराईका जिल्लामा व्यापकता पाउन थालेको छ।
टिकापुर घटनाको मुद्धा खारेजीको माग राख्दै दाङमा शुक्रबार प्रदर्शन गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले दाङको गढवामा प्ले कार्ड सहित शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।
टिकापुर घटनालाई लिएर अहिले काराकार चलान भएका‘राजवन्दी’हरुको अविलम्ब रिहाईको माग गर्दै विरोध प्रदर्शन गरिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक प्रकाश चौधरीले जानकारी दिए।
‘टिकापुरको झुट्ठा मुद्धा खारेज गर, लाल आयोग र देविराम शर्माको प्रतिवेदन सार्वजनिक गर, माननीय रेशमलाल चौधरी लगायत सम्पूर्ण राजवन्दी रिहाइ गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो। थारु कल्याणकारिणी सभा गढवाको कार्यालय बाट शुरु भएको र्यालीले गढवा बजारको परिक्रमा गरेको थियो।