बुटवल–बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने कामसमेत सुरु भइसकेको छ ।
बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुरुवात गरे । बुटवल वडा नं. ८ राजमार्ग चौराहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुरुवात गरिएको हो ।
त्यसअवसरमा प्रमुख सुवेदीले उपमहानगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्यय्नका लागि उपयोगी हुने बताए । उपमहानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको प्रमुख सुवेदीको भनाइ छ ।
सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवाकेन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताए ।
मोबाइल एपमार्फत उपमहानगरका सेवाप्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै सुवेदी नेतृत्वको उपमहानगरपालिका सरकारले पहिलो निर्णय गरेको थियो ।
भौगोलिक अध्ययनका विज्ञहरु सम्मिलित परामर्शदाता छनौट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो । अहिले काम पूरा भएका वडाहरु उपमहानगरमा सबैभन्दा धेरै जनसंख्या रहेका हुन् । अब दोस्रो चरणमा वडा नं. १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बुटवल उपमहानगरपालिकालाई प्रबिधिमैत्री बनाउन अग्रसर भइरहेको बताए ।
बुटवल उपमहानगरपालिकाको वडानम्बर ६, ७ र ८ नम्बर वडाका घरहरुमा नम्बर प्लेट टाँसिएको छ ।
अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ ।
डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ ।