बुटवल–होली आउनुभन्दा केहीदिन अघि प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयले सूचना निकाल्छ। सूचनामा इच्छाविपरित रंग नदल्न, हानिकारक रंगको प्रयोग नगर्न, होहल्ला नगर्न भनिएको हुन्छ। यसपटक पनि सूचनामा होलीको सन्दर्भमा यी कुराहरु छन्। साथै कोरोनाको संभावित जोखिमप्रति सचेत हुन आग्रह गर्दै भिडभाड गरी होली नखेल्न मुख्य रुपमा जोड दिइएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचनाको तेस्रो अनुच्छेदमा “हिन्दुहरुको महान पर्व होली (फागूपूर्णिमा) नजिक आइसकेको परिप्रेक्ष्यमा कोही कसैले पनि सार्वजनिक रुपमा भिडभाड हुनेगरी रंग खेल्ने, इच्छा विपरित रंग दल्ने, लोला हान्ने, केमिकलयुक्त अन्य हानिकारक रंगको प्रयोग गर्ने जस्ता एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने होहल्ला गर्ने जस्ता कार्य नगर्न नगराउनहुन” भनिएको छ।
पहाडी जिल्लामा यही फागनु २६ गते र तराइमा २७ गते होली पर्व मनाइँदै छ। होली पर्व प्रायः भिडभाडमै मनाइन्छ।
टोल, छरछिमेकमा मात्र नभई संस्थागत रुपमा जम्मा भएर एक आपसमा रंग अबिर दलेर रमाइलो गरी निर्धक्कसँग होली पर्व मनाउने गरिन्छ।
तर विश्वमा फैलिएको कोरोनाको संक्रममणको जोखिमका कारण यस वर्ष होलीको माहोल प्रभावित हुने देखिएको छ।
संघिय तथा प्रदेश सरकारले सार्वजनिक भेला, सभा, मेला महोत्सव जस्ता भिडभाडका कार्यक्रम नगर्न भनेको छ। प्रदेश ५ को मन्त्रिपरिषदले फागनु १९ गते आफूले गर्न लागेको लगानी सम्मेलन स्थगित गर्दै मेला, महोत्सव सभा सम्मेलन, सभा, भोज भतेर नगर्न निर्देशन दिएको छ।
त्यसैको आधारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा निर्देशन कार्यान्वयन गराउन पत्र पठाएको थियो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि सूचना निकाल्दै ठूला जनसमुह सहभागी हुने कार्यक्रम नगर्न र भिडभाडमा होली नखेल्न आग्रह गरेको हो।
प्रशासनको सूचनामा एक आपसमा हात मिलाउने तथा अंकमाल गर्ने कार्य नगर्न, भिडभाड भएको ठाउँमा जान परे माक्सको प्रयोग गर्न, कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान भनिएको छ।
त्यसै गरी कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरुलाई अनुरोध गरिएको छ।