भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ बाइपासबाट स्रोत नखुलेको रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो पौने २ बजे ईलाका प्रहरी कार्यालय वेलहियाबाट खटेको टोलीले चेकजाँच गर्ने क्रममा वेलहिया बाईपासबाट एक भारतीयसहित २ जनालाई स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।
लु २१ प २२१२ नम्बरको स्कुटीमा सवार सिद्धार्थनगर १ बस्ने २१ वर्षीय विनय कलवार र भारतको उत्तरप्रदेश नौतनवा बस्ने अन्दाजि ३५ वर्षीय सुरज गौणलाई उक्त रकम सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शंकास्पद देखिएको उनीहरु सवार स्कुटी रोकी चेकजाँच गर्दा उनीहरुको साथमा रहेको झोलाबाट उक्त रकम प्राप्त भएको हो । स्रोत नखुलेको रकम, पक्राउ परेको व्यक्ति र स्कुटी सहित आवश्यक कारवाहीको लागि मंगलबार नै राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको कार्यालयले जानकारी दिएको छ ।