बुटवल । बुधबार राती परेको अविरल बर्षाका कारण बुटवल–तानसेन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बुटवल सडकखण्डको हिउँदे खोलानजिकै खसेको पहिरो पन्छाउन मुस्किल परेको दोभान प्रहरीले जनाएको छ ।
अविरल बर्षाका कारण झुम्सा, पानीमिल तल्लो र माथिल्लो सिद्धबाबालगायत स्थान पहिरो खसेको थियो । ठूलाठूला ढुंगा खसेकाले राजमार्ग खुलाउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी पहिरोमाथिबाट नै स–साना सवारी पास गराइएको भएपनि पहिरो पन्छाउन नसक्दा ठूला सवारीको आवतजावत रोकिएको ट्राफिक प्रहरी धर्मराज न्यौपानले बताए । खसेको पहिरोमा पानी परेर लेदो बनेपछि शुक्रबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेका उनले जानकारी दिए ।