बुटवल - पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। अविरल वर्षासँगै माथिबाट खसेको पहिरोका कारण विहान साढे १० बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दोभान तर्फबाट डोजर आउँदै गरेको र पानी कम भएमा दिउसोसम्म सडक खुल्न सक्ने कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । यसैबीच पाल्पाको राम्दीमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनहरु अलपत्र परेका छन्।
यस अघि विहिवार बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा २ दिनसम्म सडक अवरुद्ध भएको थियो । शुक्रबार साँझबाट यातायात सुचारु भएपनि अहिले फेरि राजमार्ग अवरुद्ध भएको हो ।