बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले रुपन्देहीमा साउन १५ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याएको छ ।
बैठकले सार्वजनिक सवारीमा यसअघि कायम भएको जोर–विजोर प्रणाली र व्यवसायमा राखिएको समयसीमा हटाएको छ । यद्यपी, निशेधाज्ञामा अत्यधिक भिडभाड हुने कार्यहरुमा भने अझै पनि रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा मुख्यत: तीन वटा कुराहरुमा अझै पनि रोक लगाइएको छ ।
सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमाहल र हाटबजार सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पुजा बाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न निषेध गरिएको छ ।
त्यस्तै खरिद तथा औषधी उपचार प्रयोजनार्थ र अत्यावश्यक काम बाहेक अन्य कामका लागि कुनै पनि नेपालीहरु बेलहिया नाकाबाट आवतजावतमा पनि पूर्णरुपमा रोक लगाईको छ ।
कोरोनाको संक्रमणदर केही कम भइरहेका कारण डीसीसीएमसीले निशेधाज्ञा खुकुलो पारेको हो । यद्यपी, संक्रमण बढ्ने जोखिम कायम नै रहेका कारण निशेधाज्ञा पूर्णरुपमा नहटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

