बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका दलहरुले सरकारले आफ्नो बैधानिकता पुष्टि गरेपछि मात्रै आफूहरु बजेटमा सहमतिमा आउने बताएका छन् ।
विहीबार साँझ पत्रकार सम्मेलन गर्दै विपक्षी गठबन्धनका दलहरुले सरकारको बैधानिकता र बजेट पास सँगसँगै हुनुपर्ने माग राखेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडियाले अल्पमतको सरकारले पेश गरेको बजेट पास गर्न आफूहरुलाई नैतिकताले नदिने बताए । उनले भने-'पहिला आफ्नो सरकारको बैधानिकता प्रमाणित गर्नु पर्यो । त्यसपछि बजेटको विषयमा छलफल गरौंला ।
त्यस्तै नेकपा माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीले बजेट फेल हुने देखेपछि सदन बहिस्कार गरेर मुख्यमन्त्री पोखरेलले ओली प्रवृत्ति देखाएको आरोप लगाए । उनले भने-'अर्को ओली प्रवृत्ति यहाँ रहेको छ, केही दिनमा यो परास्त हुन्छ ।'
नेता केसीले राजनितिक समाधानस्वरुप सरकारले पेश्की विधेयक ल्याएर मार्गप्रशस्त गर्नु नै सरकारको बाटो रहेको बताए ।
जनता समाजवादी पार्टी(उपेन्द्र यादव पक्ष)का संसदीय दलका नेता सहस्रराम यादवले विगतदेखि नै अल्पमतमा सरकारले ल्याएको बजेट पास गर्न नसकेपछि सरकार आफैं नैतिक संकटमा पुगेको बताए ।