पाल्पा - पाल्पाको डुम्रेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ स्थीत भित्री कच्ची सडकमा माथिबाट खसेको पहिरोमा परि बर्दिया बाँसगडी नगरपालिका ४ घर भई डुम्रेमा बस्दै आएका २७ वर्षिय महेन्द्र भन्ने मुमलाल पुनको मृत्यु भएको हो । पहिरोमा परि एक जना घाइते भएका छन् ।
डुम्रेबाट होलादीघाट तर्फ ढुंगा लोडगरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फँसेको थियो । मृतक पुन सोही ट्याक्टरमा सहयोगीको रुपमा काम गर्दथे । फँसेको ट्याक्टर लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबीले निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले ट्याक्टरका सहयोगी पुन र जेसिबीका चालक पाल्पा रैनादेबी छहरा गाउँपालिका १ का सरोज बुढालाई पुरेको थियो ।
दुबैलाई उद्धार गरि लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा लगिएको र उपचारको क्रममा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए। जेसीबी चालक बुढाको भने उपचार भइरहेको छ ।